FAQs Complain Problems

सामाजिक संजालका लिंकहरू

सूचना प्रविधिको माध्यमहरुमध्ये अग्रणी छ इन्टरनेट । इन्टरनेट अनेकौं किसिमले प्रयोग हुन्छ । आजको विश्वमा इन्टरनेटको सर्वाधिक प्रयोग सामाजिक तथा व्यक्तिगत सूचना आदानप्रदानका लागि भइरहेको छ । सूचना र विचार आदान प्रदानको चौतारी बनेका छन् सामाजिक सञ्जालहरु । व्यक्ति र व्यक्तिलाई जोड्ने उद्देश्यले खोलिएका दस हजार भन्दा बढि सामाजिक सञ्जाल वेवसाइटहरु अहिले विश्वमा छन् । 

सामाजिक सञ्जाल अर्थात् ‘सोसियल नेटवर्किङ साइट’ ! नामले नै यसको उद्देश्य प्रष्ट छ– समाजलाई जोड्ने, व्यक्तिलाई जोड्ने, विश्वलाई जोड्ने । जब हामी इन्टरनेटको दुनियाँमा छिर्छौं, त्यहाँ विश्व नै एउटा समाज बन्छ । नातागोता तथा साथीभाइ विश्वको जुनसुकै कुनामा पुगे पनि सामाजिक सञ्जालले जोडिदिन्छ । चिन्दै नचिनेकोलाई चिनाइदिन्छ, नयाँ नयाँ सूचना र जानकारी थाहा दिन्छ ।

यहाँ सामाजिक सञ्जालको चर्चा गर्न खोजिएको हो । सामाजिक सञ्जालको प्रभाव कुनै पनि राज्य तथा आम विश्व समुदायबीच गहिरो रुपमा परेको पाइन्छ । अहिले विश्व समुदाय कहाँ छ ? यो प्रश्नको जवाफमा सूचना प्रविधि विज्ञहरु भन्छन्– स्क्रिनमा छ । स्क्रिन आधारित सञ्चार प्रविधि एवं सामाजिक सञ्जालहरु अडियो तथा भिडियो प्रसारणमा पनि अग्रणी बन्न थालेका छन् । एक दशकभित्रै अहिलको जस्तो टेलिभिजन प्रसारण लगभग लोप हुनेछन् र इन्टरनेट आधारित टेलिभिजन स्टेशनले विश्व बजार लिनेछ । 

विश्वका जनजनमा हरेक क्षण खबरहरु आदानप्रदान भइरहेको हुन्छ । जसले गर्दा कुनै ठाउँमा भएको राम्रा वा नराम्रा कुराहरु भाइरल जस्तो तुरुन्तै फैलन्छ । सामाजिक सञ्जालहरुका कारण सरकारहरु तथा सार्वजनिक सरोकारसँग जोडिने विषयवस्तुमा विभिन्न संस्थाले गर्ने निर्णयमा होशियारी अपनाउनुपर्ने भएको छ । किनभने जनताले तत्कालै प्रतिक्रिया दिन्छन् । गलत निर्णय गरिएमा सो निर्णय कार्यान्वयनको तहमा नपुग्दै तुहिन सक्छ । 

भूमण्डलीकरण अर्थात् विश्व नै एउटा गाउँ भइसक्यो भन्ने चलनचल्तीको अवधारणा विकासमा सामाजिक संजालहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सूचना प्रविधि र सामाजिक संजालहरुको विकासभन्दा पहिला विश्वका कुनै एक ठाउँमा भएको घटनाको जानकारी अन्य ठाउँमा धेरै पछि मात्र पुग्थ्यो, ढिलो थाहा पाउँदा घटना पूरानो भइसक्थ्यो त्यसैले घटनाले उत्पन्न गर्ने प्रभाव पनि न्यून हुन्थ्यो । आजकाल सामाजिक संजालका कारण विश्वको कुनै पनि ठाउँमा भएको कुनै पनि घटना तत्काल सबैले थाहा पाउन सक्छन् । घटना उपर सकारात्मक तथा नकारात्मक टिप्पणी एवं विचार पनि तत्काल आउँछ । जनसरोकारका घटनामा जनताको तत्काल टिप्पणी तथा विचार आउने हुनाले राज्य संचालनमा रहेकाहरुलाई दवाब पनि पर्छ । यस्तो दवाबको स्वरुप सकारात्मक र नकारात्मक दुवै खालको हुनसक्छ । 

आर्थिक वर्ष: